साझा संकल्प प्रस्ताव तयार पार्न दलहरु विफल
पाँच महिनादेखि अवरुद्ध बनेको संसद खुलाउनको निम्ति साझा संकल्प प्रस्ताव तयार पार्न तीन प्रमुख दल विफल भएका छन्।
सत्ताधारी नेकपा एमाले र नेपाली कांग्रेस तथा प्रतिपक्षी माओवादीका नेताहरुले शुक्रबार साँझ साझा संकल्पको मस्यौदा तयार पारी त्यसमाथि छलफल शुरु गर्ने बताएका थिए।
तर राष्ट्रपतिको कदमलाई व्याख्या गर्ने विषयमा कुरा नमिलेपछि उक्त बैठक केही बेरमै स्थगित भएको थियो।
दुवै पक्षको चित्त बुझाउने खालको मस्यौदा तयार गरेर छलफल शुरु गर्ने भनेर डाकिएको शुक्रबारको बैठकपनि विगतमा झैं पार्टीहरुको आ आफ्नो अडानबारे नेताहरुबीचको कुराकानीमै सीमित हुन पुगेको थियो।
उक्त बैठकमा सहभागी नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले भने, “साझा संकल्पको मस्यौदा तयार पार्ने कुरा थियो। तर पहिला माओवादीको राय बुझ्न जरुरी भएकोले बैठक शनिवार बिहानसम्म स्थगित गरिएको छ।”
असहमति
दलहरुबीचको मुख्य असहमति राष्ट्रपतिको कदमलाई लिएर नै भएको थियो।
“राष्ट्रपतिको कदम सच्च्याउने वा सो बारे संसदमा संकल्प प्रस्तावमार्फत छलफल गर्ने कुरा हामीलाई अमान्य छ,” केसीले बताए।
आफ्नो नेतृत्वको अघिल्लो सरकारले हटाएको तत्कालीन सेनापतिलाई थमौती गर्ने राष्ट्रपतिको कदमलाई लिएर नागरिक सर्वोच्चता गुमेको भन्दै माओवादीले आन्दोलन गरिरहेको छ।
माओवादीले राष्ट्रपतिको कदमबारे संसदमा संकल्प प्रस्ताव छलफल भएमा मात्र आन्दोलन फिर्ता लिने बताएको छ।
केही दिनयता तीव्र पारिएका छलफलहरुपछि चाहिं तीनै दल साझा संकल्पको पक्षमा आइपुगेका हुन्।
तर त्यस्तो साझा संकल्पमा आफुले भनेकै कुराहरु परोस् भन्ने अडानबाट दलहरु पछि हटेका छैनन्।
शुक्रबार दिउँसो राजधानीमा बसेको माओवादीको स्थायी समितिको बैठकले पनि त्यही संकेत दियो।
माओवादीका एकजना वरिष्ठ नेता सीपी गजुरेलले साझा संकल्पमा उनीहरुको माग समावेश गरिएमा मात्र सहमति हुन सक्ने बताए।
“राष्ट्रपतिको असंवैधानिक कदम सच्च्याउन तयार नहुने हो भने सहमति बन्न सक्दैन,” उनले भने।
राष्ट्रपतिको कदमबारे मुख्य दलबीचको असमझदारीका कारण उब्जिएको गतिरोधका कारण संसद अवरुद्ध भएकोले बजेट पारित हुन सकेको छैन।
यही विषयमा ती दलबीच बढेको तिक्तताले संविधान निर्माण र समग्र शान्ति प्रक्रियालाई नै असर गरेको अनुभव कतिपय विश्लेषकहरुको छ।
0 Comments
Posted on 03 Oct 2009 by admin