माओवादीद्वारा राजधानीमा नेवा: गणराज्य घोषणा
प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले देशको राजधानी रहेको काठमाण्डू उपत्यकालाई नेवा: स्वायत्त गणराज्य घोषणा गरेको छ।
भूतपूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डूको बसन्तुपरमा आयोजित सभाबाट त्यस्तो घोषणा गरेका हुन्।
सरकार, सत्ताधारी दल र कतिपय मित्र राष्ट्रहरुद्वारा चर्को आलोचना र चिन्ता एवं चासो व्यक्त गरिए पनि उनले घोषणा पूर्णतया संविधान र शान्ति सम्झौता अनुकूल रहेको दावी गरे।
संविधानसभाले गर्ने संघीय राज्यको सीमाना र नामाकरण मान्ने बताएर प्रचण्डले आफूहरुप्रति आशंकाको नजर लगाईरहेकाहरुलाई आश्वस्त पार्न खोजेका थिए।
चेतावनी
संविधान लेखन र शान्ति प्रकृया विरुद्ध षडयन्त्र भइरहेको बताउँदै उनले त्यो विफल पार्न पनि गणराज्य घोषणा जरुरी भएको तर्क प्रस्तुत गरेका थिए।
उनले खासगरी सत्तापक्षतर्फ लक्षित चेतावनी दिँदै भने, “षडयन्त्र नरोकिने हो भने गणराज्य घोषणा राजनीतिक घोषणामा मात्र सीमित नरही समानान्तर सत्तामा विकसित हुनेछ। दुनियाँको कुनै पनि ताकतले रोक्न सक्ने छैन।”
उनले गणतन्त्र र संविधानसभाको चुनावको पक्षमा अन्य दलहरुभन्दा आफूहरुले एक कदम अगाडि पाईला चालेको उल्लेख गर्दै उनले संघीय राज्यको पक्षमा पनि त्यही गरेको बताए।
अर्का माओवादी नेता बाबुराम भट्टराईले काठमाण्डूसंग जोडिएको नुवाकोटको ककनीमा ताम्सालिङ गणराज्य घोषणा गरेका छन्।
देशभर चौधवटा स्वायत्त गणराज्य घोषणा गर्ने योजनामा रहेको माओवादीले अहिलेसम्म दशवटा राज्य घोषणा गरिसकेको छ।
यसैबीच सत्ताधारी तीनवटा मधेसी पार्टीको बुधबार भएको बैठकले अहिलेसम्म आलोचना, चासो र चिन्तामा सीमित माओवादी गणराज्य घोषणा विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।
0 Comments
Posted on 17 Dec 2009 by admin